Wednesday, June 21, 2017

पर्यटकीय गन्तव्य जटायु रेस्टुरेन्ट

कृष्णप्रसाद भुसाल

जटायु रेस्टुरेन्ट, झट्ट सुन्दा अनौठो र फरक नाम लाग्न सक्छ कतै यो खानाका विविध परिकारहरू पाइने र साथीभाइहरू जमघट हुने विशेष प्रकारको रेस्टुरेन्ट पो हो कि ।  तर जटायु रेस्टुरेन्ट त मानिसका लागि खाना खान भनेर बनाइएको होइन ।  यी त्यस्तो प्रकारका रेस्टुरेन्ट हुन् जहाँ विश्वमै दुर्लभ पक्षी गिद्धहरू सिनो खान आउँछन् ।  त्यसैले त यिनको नाम जटायु (गिद्ध) रेस्टुरेन्ट दिइएको छ ।  स्थानीय जनसमुदायद्वारा सञ्चालित र व्यवस्थित गरिएका यी रेस्टुरेन्टको प्रमुख उद्देश्य लोपोन्मुख अवस्थामा पुगेका गिद्धलाई शुद्ध, विषादीरहित आहार उपलब्ध गराई संरक्षण गर्नु हो ।  
नेपालमा सर्वप्रथम सन् २००६ मा सामुदायिक वन उपभोक्ताहरूको सक्रियतामा नवलपरासीको पिठौलीमा समुदायद्वारा सञ्चालन गरिएको विश्वकै पहिलो जटायु रेस्टुरेन्टको स्थापना गरियो ।  नवीनतम अवधारणामा स्थापित यस रेस्टुरेन्टको सफलतापछि यस प्रकारका जटायु रेस्टुरेन्टहरू रूपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजोरी, कैलालीको खुटिया, कास्कीको घाचोक र सुनसरीको रामधुनीमा पनि विस्तार गरियो ।  गिद्ध संरक्षणमा कोसेढुङ्गा मानिएका यी रेस्टुरेन्टहरू हाल नेपालका सात स्थानमा सञ्चालित छन् ।  यसरी खोलिएका जटायु रेस्टुरेन्टमा गौरक्षा केन्द्र हुन्छन् जहाँ किसानहरूबाट वृद्ध, अशक्त र बेकामी गाईवस्तुहरू सङ्कलन गरी पालनपोषण गरिन्छ ।  खासमा गौरक्षा केन्द्र पशुको वृद्धाश्रम हो ।  वृद्धाश्रममा गाई गोरु ल्याउनेलाई रेस्टुरेन्टले प्रोत्साहन स्वरूप नगद पुरस्कार पनि दिन्छ ।  ती गाई गोरुको प्राकृतिक मृत्युपश्चात् गिद्धको आहारका लागि निश्चित स्थानमा राखिन्छ र गिद्धहरू आई खान्छन् ।  त्यहाँ गिद्धको आनीबानी नजिकैबाट लुकेर हेर्ने पर्यटक अवलोकन घर पनि हुन्छ जहाँबाट आगन्तुकहरूले सिनोमा लुछाचुँडी गरिरहेका अतिसङ्कटापन्न गिद्धहरूको विभिन्न अवस्था र क्रियाकलापको अध्ययन, अनुसन्धान गर्नुका साथै मनोरञ्जन पनि लिन सक्दछन् ।  सूचना केन्द्रमा रहेका श्रव्य, दृश्य सामग्री र संग्रहबाट थप सूचना प्राप्त गर्नुका साथै स्थानीयसँग छलफल पनि गर्न सकिन्छ ।  हाल आएर यी रेस्टुरेन्टहरू पर्यापर्यटन प्रवद्र्धनमा आकर्षक गन्तव्यको रूपमा विकसित हँुदैछन् ।  साथै, स्थानीय समुदायको जीविकोपार्जन, सामुदायिक विकास, स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका साथै गिद्ध र अन्य जैविकविविधता संरक्षण सचेतना अभिवृद्धिमा टेवा पु¥याइरहेका छन् ।  
‘प्रकृतिको कुचिकार’ भनिने गिद्धहरू पर्यावरणीय चक्र र खाद्यशृङ्खला सन्तुलन र गतिशीलताका महìवपूर्ण संवाहक हुन् ।  आफैं शिकार नगरी मरेका जनावरको सिनो मात्र खाने गिद्धहरू प्रदूषित र दुर्गन्धित वातावरणलाई स्वच्छ र सफा राखी विभिन्न महामारी सरुवा रोगहरू हैजा, रेबिज, प्लेग, एन्थ्राक्सको महामारी पैmलावट हुनबाट रोक्छन् ।  यसर्थ गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता हो ।  
दक्षिण एसियामा पाइने नौमध्ये नौ प्रजातिकै गिद्धहरू नेपालमा पाइन्छन् ।  करिब दुई दशक अघिसम्म हाम्रो देशको हिमालदेखि तराईसम्मका विभिन्न स्थानमा सयौं गिद्धका समूह सहजै देख्न सकिन्थ्यो तर पछिल्लो दशकसम्म आउँदा ती दृश्यहरू अति विरल तथा दुर्लभ बन्दै गए ।  करिब ९० प्रतिशतभन्दा बढीले घटी गिद्धहरू यस धर्तीबाट सदाका लागि लोप हुने अवस्थामा आइपुगे ।  गिद्धको सङ्ख्या यसरी अप्राकृतिक र नाटकीय रूपमा घट्नुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि ‘डाइक्लोफेनेक’ भएको पत्ता लाग्यो ।  सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका जनावर मरेपछि तिनको सिनोखाने गिद्धको मिर्गौलामा ‘युरिक एसीड’ जमी काम गर्न छाड्छ फलस्वरूप गिद्ध केही दिनमै मर्छन् ।  गिद्धले समूहमा खाने हुँदा डाइक्लोफेनेक प्रभावित एउटै सिनोबाट पनि ठूलो सङ्ख्यामा गिद्ध मर्छन् ।  यसरी लोपोन्मुख बनेका पक्षीको जीवन संरक्षणका लागि नै जटायु रेस्टुरेन्टको अवधारणा ल्याइएको हो ।  अतः यी जटायु रेस्टुरेन्ट वा गिद्ध सुरक्षित आहार केन्द्र डाईक्लोफेनेक र अन्य विषादिमुक्त उचित आहाराको व्यवस्था गरिएका स्थानहरू हुन् ।  
नेपाल विश्वको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गर्दा यी गिद्ध सुरक्षित आहार केन्द्र (रेस्टुरेन्ट) हरू नेपालका आकर्षक पर्यटकीय क्षेत्र बन्न सक्दछन् ।  संसारकै नमुना नवलपरासीको जटायु रेस्टुरेन्ट चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ जहाँ चितवन घुम्ने पर्यटकको एकदिने बसाइ थप लम्ब्याउन सकिन्छ ।  विश्वमै दुर्लभ पाँच प्रजातिका गिद्धसँगै स्थानीय सङ्ग्रहालय, थारु संस्कृति अवलोकन, घर बास (होम स्टे), नमुना घाँसेमैदान व्यवस्थापन, दुर्लभ एक सिङ्गे गैंडा, पाटेबाघ, खरमजुरको अवलोकन यहाँका आकर्षण हुन् ।  रूपन्देहीको गैडहवा तालमा अवस्थित जटायु रेस्टुरेन्ट गौतम बुद्धको जन्म स्थान लुम्बिनीबाट मात्र १५ कीमीको दूरीमा हुनुका साथै चरा र अन्य जैविक विविधताका लागि महìवपूर्ण क्षेत्रमा पर्दछ ।  गैडहवा ताल हिउँद याममा साइबेरिया क्षेत्रबाट बसाइसराई गरी आउने आगन्तुक चराहरूको आश्रयस्थलका साथै सारस, भुँडीफोर गरुड जस्ता विश्वमै दुर्लभ चराहरूको बासस्थान हो ।  बनभोज, बर्ड वाचिङ्ग, जङ्गल सफारी र नीलगाई अवलोकनका लागि यो क्षेत्र उपयुक्त छ ।  पूर्व–पश्चिम राजमार्ग छेउमै रहेको दाङको लालमटियास्थित जटायु रेस्टुरेन्ट पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्न सकिने थुप्रै सम्भाव्यताहरू छन् ।  पशु वृद्धाआश्रम सञ्चालन र नियमित पशु स्वास्थ्य जाँच शिविर सञ्चालन, सालको नमुना वन व्यवस्थापन, गिद्ध संरक्षणका लागि अक्षकोष स्थापना, दुर्लभ हँुडार र चराहरूको अवलोकन जस्ता समुदायका अनुकरणीय कार्य र प्राकृतिक छटाहरू निश्चय नै आकर्षक छन् ।  दाङको तुल्सीपुर नजिकै बिजौरीमा रहेको जटायु रेस्टुरेन्टले नेपालकै पहिलो गिद्ध सुरक्षित वन घोषण गरी गिद्ध र अन्य वन्यजन्तुहरूको संरक्षण गरिरहेको छ ।  खुटिया नदी तटमा अवस्थित कैलालीको जटायु रेस्टुरेन्टमा सिनोमा झुमिरहेका गिद्धहरूको चर्तिकला देख्दा संसारकै उत्कृष्ट प्राकृतिक चिडियाखानामा बसेजस्तो लाग्छ जसलाई टीकापुर, घोडाघोडी ताल र शुक्लाफाँटा वन्यजन्तु आरक्षको नेटवर्कभित्र समेटी सुदूरपश्चिमको पर्यटनमा नयाँ आयामको रूपमा विकसित गर्न सकिन्छ ।  कास्कीको घाचोकमा रहेको जटायु रेस्टुरेन्ट पर्यटकीय नगरी पोखरा र माछापुच्छे«को आगँनमै अवस्थित छ जहाँबाट माछापुच्छे« हिमशृङ्खला र सेती नदीको सुन्दर प्राकृतिक खोचको नजिकैबाट स्पर्श गर्न सकिन्छ ।  जैविक र सांस्कृतिक विविधताको खानी अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यो रेस्टुरेन्टमा हिमालदेखि तराईसम्मका गिद्धहरूको जमघट देख्न पाइन्छ ।  
नेपाल पक्षी संरक्षण सङ्घले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्य साझेदार संस्थाहरूसँग हातेमालो गर्दै जटायु रेस्टुरेन्टलाई दिगो व्यवस्थापन गरी गिद्ध लगायत अरू जैविक विविधताको संरक्षण गर्न र पर्यटन विकासका लागि स्थानीय समुदायमा विभिन्न सीप विकासका तालिमहरू, होम स्टे व्यवस्थापन र नेचर गाइड तालिम पनि सञ्चालनमा टेवा पु¥याइरहेको छ ।  समग्रमा यी जटायु रेस्टुरेन्टहरू स्थानीय समुदायसँगको सहकार्यमा जैविक तथा सांस्कृतिक विविधताको संरक्षण, वातावरणीय सचेतना वृद्धि, गिद्धको दिगो संरक्षण, पर्यावरण अनुसन्धान र पर्यावरणीय पर्यटन विकासमा उदारणीय, सराहनीय र कोसेढुङ्गा बन्दै छन् ।  पर्यापर्यटन विश्वको सबैभन्दा फस्टाउँदो पर्यटन उद्योग बन्दै गइरहेको अवस्थामा हाम्रा पर्यापर्यटनका क्षेत्रको पहिचान, विस्तार तथा पूर्वाधार निर्माण र प्रचार प्रसारका साथै त्यस क्षेत्रका अन्य सामाजिक र सांस्कृतिक विविधता र मौलिकताको समायोजनमा जोड दिनु जरुरी छ ।  नेपालको पर्यटन अब हिमाल अवलोकन, सांस्कृतिक सम्पदा, जङ्गल सफारी, ट्रेकिङमा मात्र सीमित छैन ।  गिद्ध जस्ता दुर्लभ अतिसङ्कटापन्न प्रजातिको अवलोकन, अध्ययन, संरक्षणमा समुदाय स्तरका नवीनतम प्रयास र प्रभावले पनि कयौं बाह्य तथा आन्तरिक प्रकृतिप्रेमी तथा अनुसन्धानकर्ताहरूलाई आकर्षण गरिरहेको हुन्छ ।  यसर्थ जटायु रेस्टुरेन्ट र यसका बहुआयामिक पक्षलाई पर्यापर्यटन प्रवद्र्धनसँग जोडियो भने नेपाल सरकारको सन् २०२० सम्म वर्षेनि २० लाख पर्यटक भित्र्याउने लक्ष्य र पर्यटन क्षेत्रलाई अर्थतन्त्रको आधार स्तम्भको रूपमा विकसित गर्ने पर्यटन नीतिलाई सहयोग पु¥याउन सक्छ ।  

No comments:

Post a Comment