Wednesday, June 21, 2017

रोडबाट करोडपति

प्रकृति र वन्यजन्तु नियाल्न चाहने पर्यटकका लागि प्रमुख गन्तव्य हो, चितवनको सौराह। यहाँ घुम्न आउने धेरैले ठान्छन्, सौराहको विकास धनीमानीले गरेका हुन्। तर, कुनै बेला यहीँ विपन्नका रूपमा रोजीरोटीको जोहो गर्न छिरेकाहरूले नै सौराहलाई लोभलाग्दो बनाएका रहेछन्। लगनशील बनेर पाखुरा खियाउनेलाई स्वदेशमै सबथोक रहेछ। तिनीहरूमध्ये कोही कुनै समय घाँसपात प्रशस्त हुने भएकाले पहाडी जिल्लाबाट भैसी पाल्न यहाँ आएका हुन् भने कोही पुराना होटलका कामदार। छोटो समयमा उनीहरूले गरेको प्रगति सुन्दा पत्याउन मुस्किल पर्छ। विपन्नको विगत बोकेका उनीहरू अहिले महलमा बस्छन्, गाडी चढ्छन, देश-विदेश घुम्छन्। गोरखा, घ्यालचोकमा जन्मिएका दामोदर रेग्मीले जीवनमा कहिल्यै मिहिनेत गर्न छाडेनन्। उनको दुःखको कथा हृदयविदारक छ। पाँच वर्षको उमेरमा बुबाको मृत्यु भयो। तीन दाजुभाइमध्येका कान्छा रेग्मीको घरमा आगलागी भयो। बुबा गाउँकै विद्यालयमा पियन थिए। विपत परेपछि परविार बेँसी झर्‍यो। कक्षा पाँचसम्म गाउँमै पढेका उनको परविारलाई खान पनि धौधौ थियो। आमाले जेनतेन अन्न जोहो गर्थिन् । त्यतिबेला उनका साथी थिए, नारायण श्रेष्ठ -बीबीसी नेपाली सेवा), मिलन तिमिल्सिना -उज्यालो नेटवर्क), जयराम पौडेल। एउटा बिस्कुट सबैले बाँडेर खान्थे। त्यसपछि परविार चितवन बसाइ सर्‍यो। उनले भने ठूलो बुबा र दिदीको घरमा बसेर आठ कक्षासम्म त्यहीँ पढे। पहाडको जेथा बिक्री गरेर ल्याएको पैसाले चितवनको सिमल टाँडीमा १० कट्ठा जग्ग्ाा खरदि गरे। तर, सबै ढुंग्रे खोलाले बगरमा परण्िात गर्‍यो। परविारको बिचल्ली भयो। उनी गोरखा, देउरालीस्थित मामाको घरमा बसेर पढ्न गए। रामशाह उच्च्ा माविबाट एसएलसी दिए । विपन्न परविारका उनलाई सधँै पैसाकै पिरलो थियो। रामपुर कृषि क्याम्पसमा भर्ना हुन गए। कलेजले तोके अनुसार खर्च जोहो गर्न नसकेपछि पढ्न पाएनन्। १ हजार ३ सय रुपियाँ ऋण लिएर टाँडीको सहिद स्मृति क्याम्पसमा भर्ना भए। दोस्रो वर्ष पढ्दा पढ्दै होटल तथा सामुदायिक विकास समितिमा फोन उठाउने कर्मचारीका रूपमा नियुक्ति पाए। त्यहाँसम्म पुर्‍याउने काम सौराहका अगुवा होटल व्यवसायी हरभिक्त घिमिरेले गरे। उनी फोनमा आएका सन्देश टिप्ने, तत्काल बोलाउनु परे बोलाउने, नभए सन्देश लिएर घरघरमा पुर्‍याएर सुनाउने गर्थे। तलब मासिक १५ सय थियो। उनी चार किलोमिटर टाढा झुवानीबाट हिँडेरै सौराहस्थित कार्यालय आउँथे। फोनमा आएको सन्देश पुर्‍याउने क्रममा कसैकसैले मायाले टिप्स दिन्थे । २०५५ सालमा सबैतिर फोन आएपछि उनको पेसा धराशयी बन्यो। ०५७ सालमा माओवादीले टेलिफोन टावरमा बम पड्काएपछि भने उनका दिन फिरे। उनले भतिज रमेशसँग मिलेर सौराह टेलिफोन सेवा सुरु गरे। टेलिफोनबाट एक वर्षमा सात लाख रुपियाँसम्म आम्दानी भयो । उनको तलब ६ हजारसम्म पुग्यो। तलबबाट साइकल किने। ०५८ सालमा होटल तथा सामुदायिक विकास समिति र होटल एसोसिएसन एकीकरण भएपछि त्यहीँ काम गर्ने अवसर पाए। घर बनाए, बाँकी रहेको ऋण तिरे। बचेको रकमले एउटा हात्ती र जिप खरदि गरे। त्यसपछि उनको उठबस होटल मालिकसँग हुन थाल्यो। हात्ती किन्नमा उनलाई माइला दाइले सहयोग गरेे। हात्तीबाट राम्रो आम्दानी हुन थालेपछि होटल खोल्न रमेशसँग मिलेर ६ लाख रुपियाँमा डेढ कट्ठा जग्गा किने। ०६६ तिर जग्गाको भाउ अकासियो। यही समयमा उनले ४० हजार कट्ठा मूल्यमा सौराहकै मालपुरमा २३ कट्ठा जग्ग्ाा खरदि गरे। १० लाखमा किनेको जग्गा पास गर्न नपाउँदै किन्नेको भीड लागिसकेको थियो। पछि उनले ३ लाख ६० हजार प्रतिकट्ठामा जग्गा बिक्री गरे। नाफा मात्रै ६० लाख रुपियाँ निस्कियो। जग्गाबाट सोचेभन्दा धेरै नाफा पाएपछि उनले ०६६ सालको अन्त्यबाट होटल नेचर हेरटिेजको निर्माण थाले। ०६७ असोजमा होटल तयार भयो। होटल छेउमा ४५ लाख रुपियाँमा १२ धुर जग्गा थपे। "हिम्मत हारेर सफलता पाउन सकिँदैन," उनी भन्छन्, "मिहिनेत गरे गरबि पनि धनी हुने दिन आउँदा रहेछन्।" उनी अहिले ४२ लाखको घर निर्माण गर्दै छन्,भर्खरै साढे २९ लाखमा जर्मन कम्पनीको भक्स वागेन गाडी किनेका छन्। होटलमा भने तीन जनाको लगानी छ। होटलमा दर्जनभन्दा बढी रोजगार छन्। होटल मोनालिसाका सञ्चालक केशव खनाल पनि गोरखा, तान्द्राङमा जन्मिएका हुन्। उनका ६ दाजुभाइ र ६ दिदीबहिनी छन् । दुई वर्षको उमेरमा बुबाआमासँगै चितवनको बछौली झरे। एक बिघा पाखो जग्गामा बुबाले खरको सानो झुपडी बनाए। त्यही झुपडीमा १४ जनाको परविार लामबद्ध भएर सुत्नुपर्ने बाध्यता थियो। गाई-भैँसी चराउनुपर्ने, घाँस-दाउरा गर्नुपर्ने भएकाले पढ्नका लागि पालो लगाएर जानुपर्ने बाध्यता थियो। जेनतेन झुवानी माविमा पढे। उच्च शिक्षा हासिल गर्ने हैसियत थिएन। पढाइ राम्रो नभएपछि पर्यटन व्यवसायमा लाग्ने सुर कसे। तर, बुबाले दिएनन्। त्यसपछि उनले सौराहकै राइनो लजमा अलराउन्डरका रूपमा काम सुरु गरे। त्यहाँ फूल गोड्नेदेखि कोठा सफा गर्ने र वेटरसम्मको काम गरे। तलब मासिक सात सय थियो। उनको कामबाट धेरै प्रभावित बने। सबैको सल्लाहमा उनले ०५४ सालमा मोनालिसा गाइड अफिस खोले। जेनतेन फर्निचरका सामान जुटाए। गाइड अफिसमा आउने एक जना विदेशीले १५ जनासम्म साथी पठाउन थाले। यही पेसाबाट ०५७ सालमा सौराहमा आधा कट्ठा जग्ग्ाा लिएर घर बनाए। विवाह गरेर मोनालिसा लोकल कलेक्सन पसल खोले। पसलबाट समेत राम्रो आम्दानी हुँदै गयो। आम्दानीले ०६४ सालमा सौराहमै १ बिघा जग्गा लिए। ०६६ सालमा त्यही जग्गामा होटल निर्माण गरे। उनले पाँच करोडको लागतमा मोनालिसा होटल सञ्चालन गरेका छन्। भन्छन्, "मजदुरबाट मालिक बनिएला भनेर सोचेको थिइनँ, मेरो मिहिनेत र धैर्यले यहाँसम्म ल्यायो।" अहिले उनी ११ करोड सम्पत्तिको मालिक छन्। उनको होटल, घर पसल र गाइड अफिस छ। दुईवटा ऊँट र दुईवटा गाडी छन्। उनको होटलमा बस्नेलेे फरक स्वाद पाउँछन्। भन्छन्, "मेरो होटलमा आउनेले अर्गानिक खाना खान पाउँछन्।" उनका दाजुभाइ र दिदीबहिनी लाखापाखा लागिसकेका छन्। जीवन संघर्ष भएकाले काम कहिले पनि ठूलो-सानो नहुने र सफलता पाउन धैर्य चाहिने उनको भनाइ छ। आफ्नो दुःखका दिन सम्झँदा भावुक हुने उनी समाजसेवामा पनि सक्रिय छन्, अनाथ बालबालिका तथा वृद्धवृद्धालाई सहयोग गर्दै आएका छन्। क्षेत्रीय होटल संघका निर्वतमान अध्यक्ष शंकर सैँजूको कथा भिन्न्ा छ। ०४२ सालमा काभ्रेको पनौतीबाट सौराहको चितवन पार्क कटेजमा लेखापालको काम गर्न आए। तलब तीन सय थियो। त्यतिबेला सौराहमा झाडी थियो। आधा दर्जन फुसका होटल थिए। पर्यटक तिनै होटलमा बस्थे। साझेदारीमा चलेको उक्त होटल सञ्चालकबीच विवाद बढेपछि चार महिनामै जागिर धरापमा पर्‍यो। त्यस अवधिमा उनमा सौराहको रस बसिसकेको थियो। उनले सानै लगानीबाट केही गर्न सकिन्छ भनेर होटल खोल्ने सुर कसे। दुई लाखमा वाइल्ड लाइफ क्याम्प होटल स्थापना गरे। सौराहको पहिलो होटल भने एलिफेन्ट क्याम्प हो। काठमाडौँ र पोखरा घुम्न आएका पर्यटकलाई चितवनमा ल्याउन थाले। साइकल चढेर आवतजावत गर्थे। पर्यटक नदीको छालजसरी आउने भएकाले होटल व्यवस्थापन चुनौतीपूर्ण थियो, छ। त्यसपछि लगानी बढाउँदै लगे। अहिले उनीसँग दुईवटा हात्ती र तीनवटा गाडी छन्। २५ जनालाई रोजगारी दिएका छन्। भन्छन्, "समयले एक दिन सबैलाई साथ दिँदो रहेछ।" उनको होटलमा पर्यटकको भीड लाग्छ। होेटलमा स्विमिङ् पुल थप्ने तयारीमा छन्। पुरानो घर काभ्रे भए पनि अहिले काठमाडौँमा समेत घर बनाएका छन्। सबै व्यवसायीको आँखा सौराहमा मात्र परेकामा भने उनी आश्चर्य व्यक्त गर्छन्। सौराहजस्तै नेपालका अन्य क्षेत्रलाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनको धारणा छ। भन्छन्, "सबै एकै ठाउँमा थुपि्रएर हुँदैन।" भैँसी पाल्न छाडेर होटल २०२६ सालमा धादिङ जोगिमाराबाट गोपाल अधिकारी भैँसी पाल्नका लागि सौराह झरे। त्यसबेला कुनै होटल खुलेका थिएनन्। झाडी र वनजंगलले गर्दा बस्ती उतिसाह्रो थिएन। उनले १३ वटा भैँसी पालेका थिए। होटलसम्बन्धी ज्ञान त छँदै थिएन। पछि भैँसी हेर्नका लागि भारतमा मजदुरी गरेर फर्किएका 'काजी' नाम गरेका युवक आए। विदेशीलाई त्यतिबेला अछुत जात भन्ने चलन थियो। उनीहरूले छोएको खाना खान र वास बस्न दिन स्थानीय हिचकिचाउँथे। सानो झुप्रो बनाएर बसेका अधिकारीको घरमा घुम्दै आएका विदेशीले वास मागे। अधिकारीले अंग्रेजी बोल्न नजाने पनि काजीले अंग्रेजी बोल्न जानेका थिए। उनले दोहोरो कुरा गरी विदेशीलाई राखेर खाना पकाएर खुवाए। काजीले राम्रो खाना पकाउला र अंग्रेजी बोल्ला भन्ने अधिकारीले चिताएका पनि थिएनन्। काजीको कला देखेर उनी छक्क परे। विदेशीले एक हजार दिएपछि पैसा थपेर ६ वटा कोठाको घर बनाए। घरकै आडमा खाडल खनेर चर्पी बनाए। बिस्तारै पर्यटकको संख्यामा वृद्धि हुँदै गयो। कोठा थप्दै गए। यसैबीचमा अस्ट्रेलियाका दुई युवती घुम्दै उनको होटलमा बास बस्न आए। उनले मायाले दुवैको नाम लिन्डा र अनिता राखे। उनीहरू खान र बस्न दिने सहमतिमा होटल चलाइदिन सहमत भए। ती युवतीहरूको प्रयासले होटलमा पर्यटकको संख्या ह्वात्तै बढ्यो। पर्यटक भनेका के हुन् र पर्यटकलाई कसरी व्यवस्थित गर्नुपर्छ भन्ने ज्ञान नभएका अधिकारीले दुई युवतीको सहयोगमा पोखरा, काठमाडाँै र नगरकोट घुम्ने अवसर पाए। त्यति मात्र नभई जापान र अस्ट्रेलियासमेत घुमे। त्यसपछि व्यवसायलाई बलियो बनाएर अघि बढ्ने निधो गरे। भैँसी पाल्न छाडे। त्यसबेला सौराहमा फाट्टफुट्ट रूपमा होटल खुल्न थाले। चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएकै थिएन। ०५२ सालबाट माओवादी द्वन्द्व सुरु भएपछि होटल व्यवसाय धराशयी बन्दै गयो। विदेशी पाहुनाको कमी हुन थाल्यो। व्यवसाय सुस्ताएपछि उनी केही समय पाहुना नआए पनि होटल खोलेर बस्न बाध्य बने। द्वन्द्व मत्थर हँुदै गएपछि उनको व्यवसाय पुनः चम्कियो। अहिले उनको होटलमा १० वटा कोठा छन्। पुराना संरचनालाई परविर्तन गरी नयाँ संरचना बनाएका छन्।

No comments:

Post a Comment