Wednesday, June 21, 2017

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक बढाउन जुट्यो निकुञ्ज

नेपालगन्जः बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक आकर्षित गर्न जंगली क्षेत्र र मध्यवर्ती क्षेत्रमा विभिन्न प्याकेज बनाएर पर्यटकलाई जानकारी गराउन थालिएको छ । 
निकुञ्ज क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढाउन होमस्टे, राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारीलगायत छुट्टाछुट्टै ब्लक निर्माण थालिएको हो । निकुञ्जले पर्याप्त पूर्वाधारको व्यवस्था गरी यसै आर्थिक वर्षबाट ठूलो संख्यामा पर्यटक भित्र्याउने योजना बनाएको छ । 
पर्यटक आकर्षित गर्न निकुञ्जको अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त र -याफ्टिङको व्यवस्था गर्न लागिएको र ओभरी नजिकैका क्षेत्रमा जंगल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण भइरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले बताएका छन् । 
त्यसका लागि स्थानीयलाई विभिन्न सीपमूलक तालिम दिन समेत सुरु गरिएको छ । सहायक संरक्षण अधिकृत चौधरीका अनुसार ढकेरी क्षेत्रमा होमस्टे र हात्तीको ब्लक निर्माण भइरहेको छ । गिद्धेनीचौरमा मचान निर्माण गरी जंगल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा र जंगल ड्राइभको व्यवस्था गर्न थालिएको छ । 
जलसैनीमा जंगल ड्राइभ र पैदल यात्राको ब्लक निर्माण भइरहेको छ भने गाभर भ्यालीमा होमस्टेसहित थारू र मुगेली संस्कृतिको क्षेत्र बनाउन थालिएको निकुञ्जले जनाएको छ । सहायक संरक्षण अधिकृत चौधरीका अनुसार त्यसका लागि स्थानीयलाई सशक्तीकरण गर्ने, होमस्टे र नेचर गाइडको तालिम सञ्चालन गर्ने काम भइरहेको छ ।
उनले स्थानीयलाई ड्राइभिङ तालिम समेत सञ्चालन गरिने जानकारी दिए । “मध्यवर्ती क्षेत्र र आसपासका स्थानीयहरूलाई रोजगारी दिने गरी प्याकेजमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्,” उनले भने, “विभिन्न स्थानमा मचान निर्माण, पर्यटकीय क्षेत्र विस्तार गर्न विभिन्न प्याकेज बनाई पूर्वाधार निर्माणका कामहरू भइरहेका छन् ।”
चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै कामहरू सम्पन्न गर्ने निकुञ्जको योजना छ । यसै आर्थिक वर्षमा सबै ब्लकहरूमा पर्यटकहरूलाई भित्र्याउने काम सुरु हुने निकुञ्जले बताएको छ । निकुञ्जका अनुसार हात्तीसार निर्माणको काम पनि तिव्र गतिमा भइरहेको छ ।
निकुञ्जमा १० हात्तीको दरबन्दी भए पनि ४ वटा हात्ती बुच्चापुरमा राखिएको छ । यसै आर्थिक वर्षमा दरबन्दी अनुसारका हात्तीको पूर्ति गरी सफारीको व्यवस्था हुने निकुञ्जले जनाएको छ । बाघको संरक्षण गर्ने गरी सरकारले ०६८ सालमा बा“के निकुञ्ज स्थापना गरकोे हो । गत वर्षको गणनाअनुसार निकुञ्जमा ७ वयस्क र २ वटा बच्चा बाघहरू थिए । यस वर्ष बाघको संख्या बढ्न सक्ने निकुञ्जले जनाएको छ । 
यस वर्षको बाघ गणनाको तथ्यांक सार्वजनिक भएको छैन । बाघको संख्या बढाउन आहारा प्रजातिको संख्या बढाउने, घा“से मैदानहरू व्यवस्थित गर्ने, पानी पोखरी निर्माण गर्ने, अग्निरेखा निर्माण गर्ने लगायतका कामहरू धमाधम भइरहेका छन् । 
पश्चिम सेक्टर, पूर्वी सेक्टर र मुख्यालय क्षेत्र गरी तीन भागमा निकुञ्जलाई विभाजन गरी १७ स्थानमा नेपाली सेनाको सुरक्षा पोस्ट स्थापना गरिएको छ । विभिन्न ५ स्थानमा सीसी क्यामरा जडान गरी अवैध कार्य रोक्ने र सुरक्षा अवस्थाको निगरानी गर्ने व्यवस्था मिलाइएको छ । 
निकुञ्जका अनुसार प्रगतिनगरमा सीसी क्यामेरा जडान गरिसकिएको छ । ५ सय ५० वर्गमिटर घना जंगल र ३ सय ४३ वर्गकिलोमिटर मध्यवर्ती क्षेत्र रहेको निकुञ्जमा चित्तल, मृग, ब“देल, चौकालगायत वन्यजन्तुको मुख्य बासस्थान छ । 
यसैगरी निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने चिसापानीस्थित गाभर भ्याली होमस्टे पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र नमुना मानिएको हो । 
परिवारिक बसाइ र सार्वजनिक कार्यक्रममा होमस्टेको लोकप्रियता बढ्दै गएको छ । पा“चवटा घरमा होमस्टेको सुविधा सञ्चालनमा छ । यो वर्षभित्रै थप १० वटा घरमा होमस्टे विस्तार गर्ने योजना छ । 
गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । तीन भिन्न संस्कृतिको अध्ययन र खानपानको विविधता गाभरको विशेषता हो । होमस्टे सञ्चालक कृष्ण चौधरीका अनुसार हिमाली फापरको रोटी, कोदोको ढि“डो र सिमीको दाल तथा थारू समुदायको सिद्रा, ढिक्री, घोंगी यहा“का लोकप्रिय परिकार हुन् । 
उनले लोकल कुखुराको माग पनि बढिरहेको बताए । शनिबार तथा अन्य बिदाका दिन होमस्टे खचाखच भरिन्छन् । छोटो दूरीमै थुपै्र वन्यजन्तुको अवलोकन पनि गाभरको अर्को विशेषता रहेको चौधरीले जनाए । 
चुरे पहाडस“ग जोडिएको गाभर सधैंभरि हराभरा देखिन्छ । मुगुको रारा राष्ट्रिय निकुञ्ज विस्तार गर्दा २०३५ मा रारालिही क्षेत्रका बासिन्दालाई गाभर भ्यालीछेउ पुनःस्थापना गराइएको थियो । रैथाने थारू समुदाय पनि ४० सालदेखि यहा“ बस्न थालेका हुन् । 
होमस्टे सञ्चालकले बा“के र बर्दिया निकुञ्जमा जंगल सफारीको प्याकेज सञ्चालन गरेका छन् । स्थानीय संस्कृतिअनुसारका नाच देखाउने गरिएको चौधरीले जनाए । पाच वर्षभित्र एक सयभन्दा बढी युवालाई होमस्टेमा रोजगारी दिने योजना रहेको उनले बताए । 
“होमस्टेको विस्तारस“गै जैविक पार्क, थारु संग्रहालय र ५० फिट अग्लो भ्युटावरलगायत पूर्वाधार निर्माण भइरहेका छन्,” होमस्टे सञ्चालक चौधरीले भने, “यसलाई पर्यापर्यटनस“ग जोडेर नमुना होमस्टे बनाउने योजना बनाएका छौं ।”

No comments:

Post a Comment