Wednesday, June 21, 2017

चितवन राष्ट्रिय निकुञ्ज विश्वकै उत्कृष्ट बन्न सफल

काठमाडौ । नेपालको चितवन राष्ट्रिय निकुञ्ज बाघ पाइने विश्वका १३ मुलुकका संरक्षित क्षेत्रमध्ये सम्मान प्राप्त गर्ने पहिलो र उत्कृष्ट बन्न सफल भएको छ ।
जैविक विविधतासम्बन्धी पक्ष मुलुकहरूको १२ औं सम्मेलनका अवसरमा दक्षिण कोरियामा ‘डब्लूडब्लूएफ टाइगर एलाइभ इनिसियटिभ’ ले चितवन निकुञ्जलाई बाघ पाइने १३ देशमध्ये उत्कृष्ट संरक्षित क्षेत्रका रूपमा सम्मान गरेको हो ।
बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, रसिया, थाइल्यान्ड, भियतनामका संरक्षित क्षेत्रलाई यसले उछिनेको हो । वन मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार चितवनलाई ‘कन्जरभेसन एसियोर्ड टाइगर स्टान्डर्डस्’ को प्रोटोकल कार्यान्वयन गर्ने निकुञ्जका रूपमा सूचीकृत गरिएको छ ।
पछिल्लो गणनाअनुसार चितवन निकुञ्जमा १ सय २० बयस्क बाघ छन् । चितवनसहित बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज तथा पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गरी कुल १ सय ९८ बयस्क बाघ छन् ।
सन् २०१० मा रसियामा भएको बाघ पाइने देशका प्रमुखहरूको सम्मेलनले २०२२ सम्म प्राकृतिक बासस्थानमा बाघको संख्या दोब्बर बनाउने महत्त्वाकांक्षी घोषणा गरेका थिए । त्यसलगत्तैदेखि सरकारले बाघको बासस्थान विस्तार गर्ने, चोरी सिकार नियन्त्रण गर्ने, बाघका आहार प्रजाति बढाउने र मानव बाघबीचको द्वन्द्व न्यून गर्ने विविध कार्यक्रममा जोड दिएको छ ।
जैविक विविधतासम्बन्धी पक्ष मुलुकहरूको १२ औं सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलले गैंडा र बाघको शून्य चोरी सिकार वर्ष र सहभागितामूलक संरक्षण्ा अभियानबाट प्राप्त उत्कृष्ट नतिजाबारे जानकारी गराएको थियो ।
६ देखि १७ अक्टोबरमा दक्षिण कोरियाको पोङचाङमा सम्पन्न सम्मेलनमा वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेलसहित मन्त्रालयको वातावरण महाशाखा प्रमुख तथा जैविक विविधता महासन्धिका फोकलपोइन्ट ब्रजकिशोर यादव, वैदेशिक समन्वय महाशाखा प्रमुख विश्वनाथ ओली, राष्ट्रिय निकुञ्जका इकोलोजिस्ट महेश्वर ढकाल, मन्त्रालयको योजना महाशाखाका इन्द्र सापकोटालगायत आदिवासी, स्थानीय समुदाय तथा गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी थिए ।
नेपालसहित १ सय ९४ मुलुक सहभागी सम्मेलनमा जैविक विविधतासँग सम्बन्धित विभिन्न ३३ वटा मुद्दामा छलफल भएको मन्त्रालयले जनाएको आजको कान्तिपुरमा खबर छ ।

No comments:

Post a Comment